सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ काब्रिस्तानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
दुर्घटनामा परी ज ११ प १२१३ नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुर्वा नगरपालिका–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा प्रदेश २–०२–००३ प ११७५ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ सुक्नाह बस्ने ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्। घाइते दासको धनुषाको जनकपुरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ज ११ प १२१३ नम्बरको मोटरसाइकलका चालक हरिपुर्वा नगरपालिका–३ बस्ने २६ वर्षीय अदुत शेखलाई नियन्त्रणमा लिएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल हाल प्रहरी चौकी पर्साको नियन्त्रणमा रहेका छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।