मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोकअगाडि ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ।
नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल गइरहेकी सर्लाहीको गोडैता नगरपालिका–५ घर भई सर्लाही क्याम्पस मलंगवामा बिबिएस दोस्रो वर्षमा अध्ययनरत २० वर्षीया गुडिया कुमारी गुप्तालाई ठक्कर दिएको थियो।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी गुप्तालाई प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो। अस्पतालमा चिकित्सकहरूले जाँच गर्ने क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक सर्लाहीको गोडैता नगरपालिका–११ निवासी अन्दाजी १७ वर्षीय अजय साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।