महोत्तरीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा ललितपुरमा मृत्यु भएको छ।

गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँको वानटोल बस्ने ५ वर्षीय बालक आदित्य कुमार महतोको मृत्यु भएको हो।

प्रहरीका अनुसार गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बालक महतोलाई ठक्कर दिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि उनलाई जनकपुरस्थित न्युरो अस्पताल पठाइएको थियो।

न्युरो अस्पतालमा पनि उपचार सम्भव नभएपछि बालकलाई ललितपुरस्थित मेडिसिटी अस्पताल रिफर गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र त्यसका चालक गौशाला नगरपालिका–८, बेलगाछी बस्ने अन्दाजी ४१ वर्षीय दिलीप कुमार खड्कालाई नियन्त्रणमा लिएको छ।

चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै