लालबन्दी । लालबन्दी नगरपालिका –१ नवलपुरबाट गोसाइँकुन्ड गएको एक दम्पती पनि सम्पर्कविहीन भएको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुर घर भएका ब्रिजकिशोर दास र उनकी श्रीमती सुनितादेवी दास गोसाइँकुण्ड गएका थिए ।
बुधबार बिहान रसुवा हुँदै चीनतर्फबाट आएको बाढीपछि उनीहरू सम्पर्कमा आउन नसकेका उनीहरूका आफन्त तथा परिवारले बताएका छन् । मंगलबार राति कुराकानी भएपछि उनीहरू त्यसयता परिवारको सम्पर्कमा आउन सकेका छैनन् । परिवारले दम्पतीको खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ । उनीहरूबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गरिदिन परिवारले अनुरोध गरेका छन् ।
त्यस्तै सोही दिन रसुवा नाकामा कार्यरत सर्लाहीका स्वास्थ्यकर्मी गोविन्द यादव पनि बेपत्ता भएका छन् ।
ब्रह्मपुरी गाउँपालिका–३, भेल्ही निवासी ३४ वर्षीय यादव बेपत्ता भएका हुन् । उनी तीन वर्षदेखि रसुवा नाकामा कार्यरत थिए । यादव बेपत्ता भएपछि उनका आफन्तहरूले तत्काल खोजी गरिदिन स्थानीय प्रशासन र सुरक्षा निकायसँग अपिल गरेका छन् ।
यस वर्ष जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने मधेश प्रदेशका श्रद्धालुहरूको संख्या उल्लेख्य रहेको छ। गोसाइँकुण्ड जाने क्रममा रसुवाको विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मधेश प्रदेशबाट मात्रै करिब ३० जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
यसअघि सर्लाहीकै लालबन्दी नगरपालिकाबाट गोसाइँकुण्ड जान हिँडेका पाँच जना पनि अझै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था अझै अज्ञात रहेको प्रशासनले जनाएको छ ।