सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

मलङ्गवा । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित मधुबनी सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार राति करिब ९ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ३० एएल ३१८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब साढे पाँच फिट तल रहेको पुलको साइफनमा खसेर ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बलरा नगरपालिका–६ निवासी दुखरन बैठाका १७ वर्षीय छोरा अभिनाष बैठा र बीचमा सवार प्रमोदकुमार बैठाका १८ वर्षीय छोरा रोहित बैठाको मृत्यु भएको हो।

गम्भीर घाइते भएका चालक अभिनाषलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा उपचारकै क्रममा शुक्रबार राति करिब १०ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, मोटरसाइकलको बीचमा सवार रोहित बैठाको दुवै खुट्टा तथा शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो। उनलाई मलङ्गवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएकोमा शनिबार बिहान करिब २ः३१ बजे बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार भारतको बिहार राज्य, सीतामढी जिल्ला बथनाहा थाना रनौली–१० घर भई हाल बलरा नगरपालिका–६ बस्दै आएका २४ वर्षीय शनि कुमार बैठाको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगी दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार

सबै