मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणको अवैध विदेशी मदिरा र एउटा भारतीय कारसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
बागमती नगरपालिका वडा नं। १२ स्थित कर्मैया चेकपोस्टमा खटिएको प्रहरी टोलीले बाराबाट मलंगवातर्फ जाँदै गरेको डीएल टु क्याप ०४१८ नम्बरको भारतीय कारलाई शंका लागि जाँच गर्ने क्रममा उक्त मदिरा बरामद गरेको हो । प्रहरीका अनुसार तस्करहरूले कारको अगाडि र पछाडिको सिटमुनि फल्स बटम बनाएर मदिरा लुकाएर ल्याएका थिए ।
बरामद गरिएको मदिराको बजार मूल्य करिब १३ लाख ५५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । जसमा ५० बोतल रेड लेबल २४ बोतल रोयल स्ट्याग ३५ बोतल ठुलो म्याकडोवेल्स र ३९ बोतल सानो म्याकडोवेल्स रहेका छन् ।
पक्राउ पर्नेहरूमा कार चालक भारत सीतामढीका ३३ वर्षीय दिपक कुमार, भारत बेतियाका ३६ वर्षीय अल्बु यादव, ३० वर्षीय कृष्ण भगत र २० वर्षीय आलोक कुमार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका व्यक्तिहरू, मदिरा र कारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।