मलंगवा । सर्लाहीको बागमती नगरपालिका १२ स्थित कर्मैया चेकपोस्टबाट प्रहरीले ठुलो परिमाणमा अवैध मदिरासहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बरको कारमा लुकाई छिपाई ल्याइएको करिब साढे १४ लाख मूल्य बराबरको मदिरा प्रहरीले बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय कारलाई रोकेको थियो। खानतलासी गर्दा कारको पछाडिको सिटमुनि विशेष प्रकारको फल्स बटम बनाएर बिल विजक नभएको अवैध मदिरा लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कारबाट ८० बोतल भोड्का, ८७ बोतल ठूलो रोयल स्ट्याग र १३० बोतल सानो रोयल स्ट्याग बरामद गरिएको छ। बरामद मदिराको कूल बजार मूल्य १४ लाख ४४ हजार १०० रुपैयाँ कायम गरिएको छ।
पक्राउ पर्नेहरूमा कार चालक भारतको गौतम बुद्ध नगर बस्ने ४० वर्षीय अनिल शर्मा, सोही गाडीमा सवार नजफगढ साउथ वेस्ट बस्ने २८ वर्षीय मोहम्मद सारुख अन्सारी र सीतामढी बस्ने २१ वर्षीय प्रबेन्द्र कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका तीनै जना र बरामद गरिएको मदिरासहितको कारलाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया तथा अनुसन्धान सुरु गरिएको छ।