लालबन्दी । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका र अलपत्र परेका व्यक्तिहरूको खोजी गर्ने क्रममा आज १७ गते सर्लाहीका २९ वर्षीय सन्तोष कुमार शाहसहित मधेसका चार जनाको उद्धार गरिएको छ । यद्यपि उनी सर्लाही कुन ठाउँका हुन् त्यसबारे खुलाइएको छैन ।
बाढी आएको सात दिनपछि उनीहरूलाई विभिन्न स्थानबाट उद्धार टोलीले सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएकाहरूमा अधिकांश रसुवा जिल्लाकै स्थानीय बासिन्दा भए पनि तराईका जिल्लाबाट त्यहाँ पुगेका चार जनाको पनि उद्धार गरिएको छ ।
धुन्चेबाट उद्धार गरिएकाहरूमा सर्लाहीका २९ वर्षीय सन्तोष कुमार शाह, सप्तरीका २७ वर्षीय मिथलेश मण्डल महोत्तरीका २५ वर्षीय हरिशंकर मण्डल र बाराका ४१ वर्षीय अशोक श्रेष्ठ रहेका छन्।
विनाशकारी बाढीको चपेटामा परेका यी चारै जना मधेश प्रदेशका जिल्लाहरूबाट के कस्तो काम वा उद्देश्यले हिमाली जिल्ला रसुवा पुगेका थिए भन्ने विषय अझै खुल्न सकेको छैन । बाढी आएको एक हप्तासम्म उनीहरू कसरी र कुन अवस्थामा जोगिन सफल भए भन्ने कुराले धेरैको ध्यान खिचेको छ ।
त्यस्तै, उद्धार गरिएका यी व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे पनि विस्तृत विवरण आउन बाँकी छ। उनीहरू सामान्य अवस्थामा छन् वा घाइते छन् भन्नेबारे सम्बन्धित निकायले थप जानकारी दिएको छैन।