लालबन्दी । मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादव ललितपुरबाट पक्राउ परेका छन्। प्रहरीलाई धम्क्याएको तथा अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मंगलबार हरिसिद्धिबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुल बहादुर कार्कीका अनुसार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको हो।
यादव २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट मधेस प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन्।
यस्तो थियो घटना :
प्रहरीका अनुसार गत जेठ २५ गते राति करिब ९ बजे सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अगर्वामा सडक किनारमा रोकिराखेको ना.६ ख. ७६२३ नम्बरको ट्रकलाई पूर्वसांसद यादवको स्वामित्वमा रहेको ज.१ त. २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई दुवै सवारी चालकलाई छलफल गरेर मेलमिलाप गर्न र कुरा नमिलेमा प्रहरी कार्यालय जान आग्रह गरेको थियो। त्यसलगत्तै ट्याक्टर चालकले सवारीधनी एवं पूर्वसांसद यादवलाई फोन गरेर घटनास्थलमा बोलाएका थिए।
यादव घटनास्थल पुगेपछि उनीसँगै आएका समूहले प्रहरी टोलीलाई घेरा हाली आक्रमण र दुर्व्यवहार गरेका थिए। सोही घटनालाई लिएर यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको थियो।
फरार रहेका यादवलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।