मलंगवा । सर्लाही प्रहरीले डकैती मुद्दामा फरार एक कैदीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित बजार क्षेत्रबाट सोही ठाउँका ४८ वर्षीय गोबिन्द पासवानलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पासवान यसअघि जलेश्वर कारागार महोत्तरीबाट डकैती मुद्दामा कैद भुक्तान गरिरहेको अवस्थामा जेनजी आन्दोलनका क्रममा मौका छोपी फरार भएका थिए ।
बजारमा खाजा खाइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएका पासवानलाई केही समय इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको थियो ।
त्यसपछि उनलाई आवश्यक कारबाहीका लागि पुनः जलेश्वर कारागार महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।