भक्तपुर । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल सोही स्थानमा बस्दै आएका २५ वर्षीय उमेश शाहलाई बिहीबार साँझ करिब ५ बजे पक्राउ गरिएको हो ।
शाहले सञ्चालन गरेको किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बिक्री वितरण गर्दै आएको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा प्रहरीले उक्त पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर बरामद गरेको छ । त्यसपछि पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
।
त्यस्तै, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेस्थित एक स्थानबाट पनि एलपी ग्यास सिलिण्डरसहित अर्का एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले १४ वटा सगर ग्यासका सिलिण्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याइएको छ । उनीहरूमाथि एलपी ग्यासको कालोबजारीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।