लालबन्दी । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका लालबन्दी नगरपालिका–५ स्थित श्री महेन्द्र आदर्श प्रावि रञ्जितपुर, सर्लाहीमा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक कृष्णप्रसाद धमलाको शोकमा लालबन्दीका सामुदायिक विद्यालय बन्द हुने भएका छन्।
लालबन्दी नगरपालिकाले सोमबार सूचना जारी गर्दै शिक्षक धमलाको परिवारले हिन्दू परम्पराअनुसार मृत्यु संस्कारसमेत गरी शोकमा रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
नगरपालिकाले शिक्षक धमलाको योगदानको सम्मानमा भोलि भदौ ३० गते मंगलबार लालबन्दी नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरी शोक मनाउने निर्णय गरेको जनाएको हो।
नगरपालिकाले शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेको छ।
शिक्षक धमला यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका थिए।
उनको परिवारले भदौ २६ गते मृत्यु वरण स्वीकार गरी हिन्दू परम्पराअनुसार दाहसंस्कारलगायत काजक्रिया गरेको नगरपालिकाको सूचनामा उल्लेख छ।
