बाढीमा ज्यान गुमाएका शिक्षक र सैनिकको शोकमा हरिपुरका विद्यालय बन्द

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकाले बाढीमा परी ज्यान गुमाएका शिक्षक तथा नेपाली सेनाका जवानको शोकमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सोमबार जारी गरेको सूचनाअनुसार गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी हरिपुर नगरपालिका–७ स्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालय चिताइनमा कार्यरत प्राथमिक तृतीय श्रेणीका शिक्षक द्वारिका प्रसाद दंगाल बेपत्ता भएका थिए।

परिवारले भदौ २६ गते उनको मृत्यु भएको स्वीकार गरी हिन्दु परम्पराअनुसार दाहसंस्कारसहित काजक्रिया गरिसकेको नगरपालिकाले जनाएको छ।

त्यस्तै, सोही बाढीका कारण हरिपुर नगरपालिका–२ बलटपुर घर भई हाल श्रीनाथ गणमा कार्यरत तथा राष्ट्रसेवामा समर्पित नेपाली सेनाका जवान अभिनाश चौधरीको समेत निधन भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले दिवंगत शिक्षक दंगाल तथा सैनिक जवान चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

नगरपालिकाका अनुसार भदौ ३० गते मंगलबार हरिपुर नगरपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरी शोक मनाउने निर्णय गरिएको छ। उक्त दिन विद्यालयमा नियमित पठनपाठन नहुने नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

सबै