लालबन्दी । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उनको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले सरकारसँग माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल बाढीपछि बेपत्ता रहेको र अहिलेसम्म जीवित रहेको कुनै जानकारी नआएको बताइन्।
दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेकाले उनी बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था अत्यन्त कठिन बनेको उनले उल्लेख गरिन्। दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर उनलाई श्रीमान्को रिक्त पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सांसद भण्डारीले सरकारसँग आग्रह गरिन्।
भोटेकोशीको विपत्तिमा दंगालजस्तै धेरै पेसाकर्मी बेपत्ता भएको र उनीहरू फर्केर आउने सम्भावना न्यून हुँदै गएकाले सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने उनले बताइन्। सांसद भण्डारीले भनिन्, ‘द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस्। यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ।’
बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकिने भन्दै उनले दंगाल परिवारबाटै यसको सुरुआत गर्न सरकारसँग आग्रह गरिन्। विपत्तिमा परेका परिवारलाई राज्य साथमा रहेको भरोसा दिलाउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।