सर्लाहीमा मोटरसाइकल दुर्घटना : एक वृद्धाको मृत्यु, चालक घाइते

गोडैता । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब १ बजेको समयमा बरहथवाबाट रामवनतर्फ जाँदै गरेको प्रदेश २–०३–००१७ प ७१३५ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका–५, रामवन बस्ने ६५ वर्षीया शान्ती देवी महतो गम्भीर घाइते भएकी थिइन्। सोनेलाल महतोकी श्रीमती शान्ती देवीलाई तत्काल उपचारका लागि वीरगन्जस्थित ब्योधा अस्पताल लगिएको थियो। अस्पतालमा इसिजी परीक्षणका क्रममा चिकित्सकले दिउँसो ३ः५८ बजे उनलाई मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा मोटरसाइकल चालक ४० वर्षीय गुड्डु सिंह घाइते भएका छन्। बलरा नगरपालिका–५, भगवतिपुर घर भई हाल बरहथवा नगरपालिका–७ मा बस्दै आएका सिंहको अहिले उपचार भइरहेको छ।

साँझ ५ः३६ बजे इलाका प्रहरी कार्यालय हरकठवालाई घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै