लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका-१०, चन्द्रपुरमा बुधबार बिहान चिर्पट प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।
स्थानीय ४० वर्षीय रमेश भुजेलमाथि चिर्पट प्रहार भएको हो । आक्रमणबाट गम्भीर घाइते भएका भुजेल अचेत अवस्थामा छन् ।
उनको स्थानीय मोडेल अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीय ध्रुव भुजेललाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरका अनुसार घटनामा प्रयोग भएको चिर्पटसमेत बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवन गरी हो–हल्ला गरेको विषयमा विवाद हुँदा कुटपिट भएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।