हरिवन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका सर्लाहीको हरिवन नगरपालिका–११ निवासी २८ वर्षीय मनिल कायस्थको शुक्रबार अन्त्येष्टि गरिएको छ।
बाढी गएको तीन साता बितिसक्दा पनि मनिलको अवस्था अज्ञात रहेपछि परिवारले नेवारी परम्पराअनुसार कुशको शव बनाई अन्त्येष्टि गरेका हुन्।
उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेका अनुसार परिवारले शुक्रबार बिहान बागमती नदीको किनारमा धार्मिक विधिपूर्वक उनको अन्त्येष्टि सम्पन्न गरेका हुन्।
बालगोपाल कायस्थका २८ वर्षीय छोरा मनिल रसुवास्थित सनसाइन होटलमा कार्यरत थिए। बाढीले बगाएको लामो समयसम्म पनि छोराको कुनै अत्तोपत्तो नलागेपछि र जीवित भेटिने आशा क्षीण बन्दै गएपछि परिवारजनले परम्परागत विधिअनुसार दाहसंस्कार गर्ने निर्णय लिएका हुन्।
एक होनहार युवालाई गुमाउनु पर्दा कायस्थ परिवार र हरिवन नगरवासी शोकाकुल बनेका छन्।