भारतको जितमा आइसिसीको यो नियम महत्वपूर्ण, आखिर किन दिइयो पेनाल्टी रन ?

काठमाडौँ : टि-२० विश्वकपअन्तर्गत हिजोको खेलमा अमेरिकाविरुद्ध भारतले सहज जित निकाल्न सकेन। टस जितेर पहिला बलिङ रोजेको भारतले ११० रनको लक्ष्य पछ्याएको थियो। आफ्ना दुवै ओपनर (विराट कोहली र रोहित शर्मा) लाई अप्रत्याशित रूपमा गुमाएपछि भारतीय टिम दबाबमा आएको थियो।

यसअघि उत्कृष्ट पारी खेलेका ऋषभ पन्त पनि सस्तैमा आउट भएपछि भारतीय टिम थप दबाबमा परेको थियो। तर, सूर्यकुमार यादव र शिवम् दुवेको साझेदारीका कारण भारतले खेल जित्यो।

तर भारतले अमेरिकाविरुद्ध निकालेको जितमा यादव र दुवेको साझेदारीभन्दा पनि अर्कै कारण महत्वपूर्ण बन्यो, त्यो हो भारतले पाएको पेनाल्टी रन।

पहिलो पटक विश्वकपमा गरिएको यो अभ्यासलाई लिएर अहिले निकै चर्चा भइरहेको छ। एक रन बनाउन पनि मुस्किल भइरहेको जारी विश्कपमा भारतलाई अतिरिक्त ५ रन किन दिइयो ? धेरैले यसलाई आइसिसीको चलाखीपूर्ण कार्य र भारतलाई जिताउने चाल बुझे। तर धेरैलाई आइसिसीले पछिल्लो पटक बनाएको यस्तो नियमबारे थाहा नहुन सक्छ।

के हो पेनाल्टी रन र किन दिइयो भारतलाई अतिरिक्त पाँच रन ? यसबारे बुझौँ।

वास्तवमा, अमेरिकाले आफ्नो बलिङको क्रममा तीन पटक ओभर सुरु गर्न ६० सेकेन्डभन्दा बढी समय लगायो। अमेरकी टोलीले ओभर सुरु गर्न ६० सेकेण्डभन्दा बढी समय लगाएपछि भारतीय इनिङ्स चल्दै गर्दा १५ औं ओभरपछि मैदानमा रहेका दुई अम्पायरबीच लामो छलफल भएको थियो।

अमेरिकी टोलीले तीन पटक ओभरको बीचमा ६० सेकेण्डभन्दा बढी समय लगाएकाले अम्पायरले भारतलाई अतिरिक्त पाँच रन दिए। जुन अमेरिकी टिमविरुद्धको पेनाल्टी हो। पाँच रन पेनाल्टीवापत पाएपछि भारतीय टोली अमेरिकाविरुद्ध हाबी भयो र जित निकाल्यो।

आइसिसीले बनाएको स्टप क्लर्क नियम 

स्टप क्लर्क नियम टि २० विश्वकपका लागि बनाइएको हो। यसअन्तर्गत दुई ओभरको बीचमा ६० सेकेन्डको समयसीमा तोकिएको छ। यो नियम ल्याउनुको उद्देश्य दुई ओभरको बीचमा धेरै समय खेर नफाल्नु र खेलमा हुने सबै कुरा तोकिएको समयसीमाभित्रै होस् भन्ने हो।

यसअघि यो नियम डिसेम्बर सन् २०२३ देखि अप्रिल २०२४ सम्म पुरुषको एकदिवसीय र टि-२० क्रिकेटमा ट्रायलको रूपमा ल्याइएको थियो, तर जुन १ देखि यसलाई स्थायी बनाइएको छ।

स्टप क्लर्क नियमअन्तर्गत बलिङ टोलीले अघिल्लो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ गर्न तयार हुनुपर्छ। खेलमा कुनै टोलीले तेस्रो पटक यस्तो गर्ने बित्तिकै विपक्षी टोलीको खातामा पाँच रन थपिन्छ। भारत र अमेरिकाबीचको खेलमा पनि त्यस्तै भयो।

एकै समयमा स्लोओभर दरको नियम पहिले नै लागू भइसकेको हुन्छ। जसअन्तर्गत एकदिवसीयमा साढे तीन घण्टामा ५० ओभर र टी-२० मा १ घण्टा २५ मिनेटमा बलिङ सकिसक्नुपर्छ। यदि कुनै टोलीले यो उल्लंघन गरेमा जरिवाना गरिन्छ।

सम्बन्धित समाचार

सबै