हरिपुर्वा : आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
महाशाखाका अनुसार अहिले कोसी प्रदेश, मधेस प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) तथा बाँकी भूभागमा आंशिक बदली (पतालो बादल) देखि मुख्यतया सफा (लगभग आकाश खुला) छ।
गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भन्नाले मौसम महाशाखाले भोलि मंगलबार बिहान ६ बजेसम्मको अविधिलाई मानेको छ।
मौसमविद्का अनुसार हाल देशको पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।