सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचारः सर्लाही एमालेका नेता र मन्त्रीलगायत ५ जनालाई जेल सजाय

काठमाडौँ : झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले सर्लाहीका एक नेतासहित यस प्रकरणमा मुछिएका ५ जनालाई कैद तथा जरिवाना तोकेको छ।

विशेषले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई ९ वर्ष १ महिना कैद तोकेको छ। उनलाई कसुरअनुसार ८ वर्ष र उनको पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला विशेष अदालतले सुनाएको हो। उनीबाट २ करोड ३५ लाख २९ हजार ३ सय ६८ रूपैयाँ असुल हुने ठहर पनि अदालतले गरेको छ।

खनाल प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई जनही ८ वर्ष कैद र मन्त्री विजयकुमारसरह नै जरिवाना असुल्ने फैसला विशेष अदालतले गरेको छ। पन्त सर्लाही निवासी हुन्। उनी नेकपा एमालेका मधेश प्रदेश कमिटी उपाध्यक्ष तथा एमालेको जिल्ला अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्।

लालबन्दी नगरपालिकाका पूर्वप्रमुख मानबहादुर खड्का र मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठलाई अदालतले सफाइ दिएको छ।

गत असार ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २५ मा पेसी तोकेको थियो।

अख्तियारले प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि ७ जनाविरुद्ध २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो।

प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने एन्टी स्नेक भेनम उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टी स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गर्ने भनेको थियो।

विषालु सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका निमित्त भौतिक संरचना निर्माणका लागि भनेर स्थापना भएको केन्द्रमा मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको दाबी थियो।

भ्रष्टाचारले बदनाम भएपछि हाल झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ।

सम्बन्धित समाचार

सबै