
चितवन : नारायणी नदीमा मृत भेटिएका भारतीय नागरिक ऋषिपाल साह सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ।
शनिबार गोलाघाटस्थित नारायणी नदीबीचमा साह मृत अवस्थामा भेटिएका थिए । उनको साथमा भेटिएको एटीएम कार्ड र भारतीय रासन कार्डबाट पहिचान खुलेको थियो ।
उनी काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९ जना सवार यात्रुमध्ये एक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी काठमाडौं बौद्धमा बसेर व्यवसाय गर्दै आएका थिए ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।
यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ ।