चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराले बगाएका बसका बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार तीनमध्ये दुई जनाको पहिचान खुलेको छ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवा का २८ वर्षीय ऋषि पल साह रहेका छन्।
साहको शव आज बिहान ११ बजे भेटिएको हो भने माझीको शव आज साँझ भेटिएको हो। माझीका बुबा रवीन्द्रकिशोर माझीले छोराको शव सनाखत गरेका हुन् भने साहको शव उनका दाजुले सनाखत गरेका चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरू काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका थिए। उनीहरूको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ।
आइतबार पनि बिहान ७ बजेदेखि खोजी पुनः सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार आइतबार गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ।
शुक्रबार काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए।
काठमाडौँबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा सवार २४ जना सवार थिए।