सिमलताल घटनामा परेको एञ्जल बसका चालकको छोराछोरीलाई पढाउने जिम्मा वीरगन्ज महानगरले लियो

पर्सा : वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेको एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरी उनीहरुको अध्ययनको जिम्मा लिने घोषणा गरेका हुन्।

“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भने, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ।” रासस

जवाहीरका एक छोरी र दुई छोरा छन्। महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो।

नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताए।

सम्बन्धित समाचार

सबै