
लालबन्दी : अर्थ मन्त्रालय नपाएको भन्दै कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको छ ।
यसअघिको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय नदिएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।
कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बोलाएको बताए ।
उनका अनुसार दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिनेछ । बदलिएको समीकरणमा कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दाबी गर्दै आएको छ ।
मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफैं राख्ने अडान लिएपछि कांग्रेस बिच्किएको हो । मुख्यमन्त्रीले सहमति पालना नगरे कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने झाले बताए ।
अर्थमन्त्री नपाएपछि कांग्रेसले सरकारमा पठाउन लागेका चार मन्त्रीले सपथ लिन मानेका छैनन् ।
कांग्रेसले समर्थन फिर्ता लिए सिंह नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
त्यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारसँग असन्तुष्ट देखिएको छ ।
१ सय ७ सदस्यीय मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो दल छ भने कांग्रेसको २२ सिट छ ।
मधेसमा जनतमतका १३ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।