त्रिशुली पहिरोः ११ दिनसम्म पनि भेटिएनन् बस र यात्रु, भारतीय उद्धार टोली पनि रित्तै

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशुली नदीमा खसेका दुईवटा बस तथा केही यात्रु आज ११औँ भइसक्दा पनि भेटिएका छैनन्।

गृहको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छिमेकी राष्ट्र भारतको ‘राष्ट्रिय आपदा मोचन बल-नेशनल डिजास्टर रेष्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोली नेपाल आएर संयुक्त रूपमा उद्धार गरे पनि सफलता हात परेको छैन।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी कार्य सुरु भएको जानकारी दिए।

आइतबार बिहान ८ः४५ बजेदेखि सोनार क्यामरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिब ३ दशमलव ५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिब १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको उनले जानकारी दिए। उनका अनुसार टोलीले आज साँझसम्म घुमाउनेदेखि देवघाटसम्म करिब १६ किलोमिटर क्षेत्रमा खोजेको थियो।

प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी विपद्को यस्तो विषम अवस्थामा दक्ष प्राविधिकको टोली पठाइ खोजी कार्यमा सहयोग उपलब्ध गराएकोमा भारत सरकार र खोजी कार्यमा संलग्न उद्धारकर्ताप्रति धन्यवाद दिएको छ।

उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ। भेटिएका शवमध्ये दुई वटा भारतीय भूमिमा भेटिएका हुन्। हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको छ।

सनाखत भएका शवमा १६ वटा पुरुषको छ भने दुई वटा महिलाको छ। त्यस्तै, सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच वटा भारतीय नागरिकका रहेका प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार

सबै