पूर्वमन्त्री रायको शवमा राप्रपा अध्यक्ष लिङ्देनले ओढाए पार्टीको झण्डा

मलंगवा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हत्या भएका सर्लाहीका पूर्वराज्यमन्त्री रामचन्द्र रायको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

आज सर्लाहीमा अध्यक्ष लिङ्देनलगायत नेताहरूले मलंगवा नगरपालिका वडा नम्बर ४ स्थित रायको निवासमा शवलाई पार्टीको झण्डा ओढाएर बिदाइ गरेका हुन्।

दाहसंस्कारमा सहभागी हुन अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङसहित राप्रपाका नेता कार्यकर्ताहरू त्यहाँ उपस्थित भएका थिए।

साथै पूर्वमन्त्री महिन्द्र राय यादव, नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति लक्ष्मण रायसहित नेता कार्यकर्ताहरू पनि उक्त श्रद्धाञ्जलि सभामा उपस्थित भएका थिए।

राप्रपाले पूर्वराज्यमन्त्री राय हत्याको सत्यतथ्य जाँचबुझ गर्न माग पनि गरेको छ।

सोमबार राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्ति जारी भनेका छन्, ‘हत्याजस्तो दुःखद् घटनाको सत्यतथ्य जाँचबुझ गर्न, घटनामा संलग्नको खोजी गर्न र कडा कारबाही गर्न राप्रपा सरकारको गम्भीर ध्यानकर्षण गराउँदछ।’

राप्रपाले संस्थापक सदस्य र तराई मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको विज्ञप्तिमा उल्लेख गरेको छ।

रायको आइतबार राति चन्द्रनगरमा रहेको आफ्नै फार्म हाउसमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जालाई पक्राउसमेत गरेको छ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

सम्बन्धित समाचार

सबै