काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले मृत्यु भएको पुष्टि गरेका हुन्।
काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो। जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए।
जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको थियो।
दुर्घटनामा पाइलट मनीष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको थियो।
दुर्घटनापछि विमानमा आगलागी भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए।
यसअघि राखिएको शीर्षक सच्याइएको छ