क्रसर उद्योगले बनाएको खाल्टोमा डुबेर १३ वर्षीय बालकको मृत्यु

महोत्तरी : रातुखोलामा क्रसर उद्योगले बनाएको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका-६ स्थित रातुखोला किनारमा बनाइएको खाडमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

शनिबार बिहान पौडी खेल्न भनी घरबाट निस्किएका रिदम घर नफर्किएपछि खोजतलास गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत भेट्टाएका थिए।

उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेको थियो। त्यसैलाई पोखरी ठानेर पौडी खेल्न बालबालिकाहरू त्यहाँ जाने गरेका स्थानीयहरूले बताउने गर्छन्।

यसअघि पनि बर्दिवास–१४ का १६ वर्षीय रोशन मिश्रको यस्तै खाडलमा डुबेर ज्यान गएको थियो।

 

 

सम्बन्धित समाचार

सबै