बस र यात्रु भेटिएनन्, बरु हराएको चुम्बक भेटियो

चितवन : त्रिशुलीमा बेपत्ता दुई बस र यात्रु खोज्ने क्रममा हराएको चुम्बक फेला परेको छ।

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा असार २८ गते पहिरोले बगाएको दुई वटा बस खोज्न १९ किलोको चुम्बक प्रयोग गरिएको थियो। तर उक्त चुम्बक दुई दिनअघि पानीसँगै बगेको थियो।

‘साउन १२ गते त्रिशूलीमा हराएको चुम्बक काभ्रेघाटमा भेटिएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भने।

बस खोज्न भारतबाट १४ र १९ किलोका दुईवटा चुम्बक ल्याइएको थियो।

गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

ती दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ। अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

पहिरासँगै त्रिशुलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरु भएको हिजो १६ औं दिन भारतबाट ल्याइएका गोताखर फर्किएका छन्।

साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली हिजो फर्किएको हो।

सम्बन्धित समाचार

सबै