सिरहाबाट ब्राउनसुगर र गाँजासहित तीन युवक पक्राउ

सिरहा : सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले सञ्चालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

पसलबाट लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट कसहाबाट प्रहरी सहायक निरीक्षक विष्णुदेव यादवको कमान्डमा खटिएको प्रहरी टोलीले धनगढीमाई– ७ कसहा घर भएका करिब २२ वर्षीय अंकेश महतो, २४ वर्षीय लालुराय अमात र २१ वर्षीय पवन साह सुनारलाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रहरी निरीक्षक दीपककुमार सिंहले जानकारी दिए।

उनका अनुसार खानतलासीको क्रममा पसलसँगै जोडिएको कोठामा डसनामुनि लुकाएको अवस्थामा ब्राउनसुगरजस्तो देखिने खैरो रङकाे पदार्थ ४.९० मिलिग्राम, २० ग्राम गाँजा, मधेश प्रदेश ०१–००४ प २५५५ नम्बरको मोटरसाइकल र तीन थान स्क्रिनटच मोबाइल बरामद गरिएको छ।

पक्राउ गरिएका तीनैजनालाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू पसलमा काम गर्ने युवकहरू हुन् वा लागुऔषध खरिद गर्न आएकाहरू हुन् भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन।

सम्बन्धित समाचार

सबै