सर्लाहीमा छायांकन गरिएको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक

काठमाडौँ : केही दृश्य सर्लाहीमा छायांकन गरिएको फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा पल साह र पूजा शर्माको मुख्य भूमिका रहेको छ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमबीच सार्वजनिक टिजरमा अभिनेता शाहको एक्सनलाई प्राथमिकता दिइएको छ। दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा देखाइएको छ।

यो फिल्ममा पलका साथमा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, निकिता चण्डकको अभिनय छ।

शाहले आफ्नो रोमान्टिक छविलाई हेरिरहेका दर्शकका लागि यो फिल्मको चरित्र नयाँ स्वाद हुने बताए। उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए।

यसमा उनले एउटा पोजेटिभ र अर्को नेगेटिभ चरित्र निर्वाह गरेका छन्। प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’ बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मको निर्माता पूजा शर्मा हुन्। सुशन पाठक कार्यकारी निर्माता छन्।

शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन्। निर्देशक थापाले आफ्नो महत्वकांक्षी यस प्रोजेक्टको जनकपुरको जानकी मन्दिरबाट छायांकन थालेका थिए।

यस फिल्ममा सर्लाहीको सागरनाथ वन परियोजना ईश्वरपुर र एभरेष्ट सामुदायिक वन लालबन्दी-१७ का साथै जिल्लाका विभिन्न स्थानको दृश्य समेटिएको छ। फिल्म भदौ २१ गते रिलिज हुनेछ।

 

सम्बन्धित समाचार

सबै