मलंगवा : बोलबम तीर्थयात्री सवार ट्याक्टर नहरमा खस्दा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
उक्त दुर्घटनामा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये चक्रघट्टा गाउँपालिका-५ की अन्दाजी ५४ वर्षीया पतही देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी पतहीको उपचार क्रममा वीरगञ्जमा मृत्यु भएको हो।
भारतको मढिया शिव मन्दिरमा जल चढाएर फर्किएका तीर्थयात्रीलाई चक्रघट्टा गाउँपालिका-८ औरहीतर्फ आउँदै गरेको ज२प ३२७ नम्बरको ट्याक्टर मलंगवा नगरपालिका-१२ गम्हरिया छेउको नहरमा खसेको थियो।
दुर्घटनामा घाइते भएकाहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।