जानकी मेडिकल कलेजमा भदौ १ देखि स्वास्थ्य बीमा लागु हुँदै

जनकपुर : स्वास्थ्य बीमा बोर्डसँग जेष्ठ २२ गते भएको सम्झौता बमोजिम भाद्र १ गतेबाट जानकी मेडिकल कलेज जनकपुरमा भाद्र १ देखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने भएको छ।

कलेजका अध्यक्ष ओम प्रसाद पाण्डेले बीमा गरेका बिरामी टाढा टाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गर्दै यो सेवा पुनः नियमित गरिएको बताए।

उनले भने, ‘इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ।’

स्वास्थ्य बीमा बोर्डले बीमा मार्फत उपचार सुविधा लिँदा निजी अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने नियम लगाएको छ।

सोही अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले जानकी मेडिकल कलेज (जीएमसी) मा उपचार गर्दा २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने अध्यक्ष पाण्डेले बताए।

कलेजका निर्देशक डा। धर्म दत्त सुवेदीले २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध भएको जानकारी दिए।

२ करोड ११ लाखको निःशुल्क उपचार

कलेजले गत आर्थिक वर्षमा मात्रै २ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको उपचार निःशुल्क गरेको दाबी गरेको छ। विपन्न, असहाय र गरीबलाई उपचारमा छुट गरिएको कलेजले जनाएको छ।

जीएमसीबाट गत आर्थिक वर्षमा ओपीडीबाट १ लाख १३ हजार ५१ जनाले सेवा लिएका थिए।

तीमध्ये ६४ हजार नयाँ र ४८ हजार जना फलोअप बिरामी रहेका जनाएको छ। यस अवधिमा ५ हजार ३ सय २७ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ।

गत आर्थिक वर्षमा ४ हजार २ सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको कलेजले जनाएको छ।

कलेजले नयाँ ओटी कम्प्लेक्स मधेश प्रदेशमा सबैभन्दा ठूलो आइसियू र एसआइसियू र सिसियू विभाग लगभग २ महिनाभित्र चालू गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

सबै