
बरहथवा : यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आवमा यस कार्यालयले ६ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए। उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ ।
यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत एक करोड ४६ लाख ३८ हजार तीन सय १५ संकलन भएको कार्यालय प्रमुख यादवले बताए। सवारीसाधन करबाट चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व संकलन भएको कार्यालयले जनाएको हो ।
कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेश प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो ।
जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलंगवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए।
यही जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षाको ट्रायल यहाँबाट सुरु भएको थियो। २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो।
रासस