७० वर्षीय वृद्धको पैसा चोरेर भागेका तीन जना सर्लाहीबाट पक्राउ

हरिवनः ७० वर्षका वृद्धको पैसा चोरेर फरार भएको आरोपमा सर्लाहीको बागमतीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागमती नगरपालिका-४ जिरायत घर भएका ४० वर्षका रामबहादुर थिङ, धादिङका ४४ वर्षीय कृष्ण ठकुरी र विराटनगर महानगरपालिका-१२ बस्ने ५४ वर्षका रुपक भुजेल रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनीहरूले हिजो (साउन २८) सोमबार सिन्धुलीको भिमानबाट बर्दिबास गइरहेको बसमा सवार बर्दिबास नगरपालिका-३ बस्ने वृद्ध रेशम बलम्पाकीको ४ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका थिए।

वृद्धको रकम लुटेर भागेका उनीहरू धरानबाट नारायणगढ जाँदै गरेको बसमा चढेका र भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।

खोजतलास गर्ने क्रममा उनीहरू तीनै जना सर्लाहीको बागमती नगरपालिका-१२ स्थित पुतलीचोकमा रहेको कालिका होटलमा बसेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले हिजो राति साढे १० बजे नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका उनीहरूको साथबाट २ लाख २८ हजार ५ सय रुपैयाँ मात्र बरामद भएको उनले बताए। उनीहरूले बाँकी रकम विभिन्न बैंक खातामा जम्मा गरेको र खर्चसमेत गरिसकेको बुझिन आएकाले त्यसमाथि अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास बुझाइएको छ।

सम्बन्धित समाचार

सबै