
सिरहा : सिरहामा दुई लघुवित्त संस्थामा एक समूहले आगजनी गरेको छ।
गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चोहर्वा शाखामा महिलाको एक समूहले आगजनी गरेको हो। त्यस क्रममा कार्यालयका कागजात तथा कम्प्युटर, ल्यापटप, मोबाइलजस्ता उपकरणसमेत जलाइएका छन्।
करिब २० जनाको समूहमा आएका महिलाले सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यालयभित्रै ल्यापटप दुई थान र टेबलमा भएका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर जलाएको संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुई/तीन जनाका दरले ग्राहकजस्तै भएर आएका महिलाले एक्कासि कागजात र ल्यापटप नियन्त्रणमा लिएर जलाएका थिए।
यसैगरी, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा पनि दुई वटा डेक्सटप कम्प्युटर कामै नलाग्नेगरी फुटाइएको र विभिन्न कागजात नियन्त्रणमा लिइएको जनाइएको छ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले घटनाको जिम्मा लिएको छ।
सरकार र संघर्ष समितिको कार्यदलले बनाएको प्रतिवेदन लघुवित्तले कार्यान्वयन नगरेकाले आफूहरू संघर्षमा जान बाध्य भएको उक्त समितिका मधेश प्रदेश अध्यक्ष अर्जुन विश्वकर्माले बताए।
उनले भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधि र संघर्ष समितिले मिहिनेत गरेर बनाएको प्रतिवेदन कार्यान्वयन भएन। पीडितहरूले पीडा खप्न नसकेपछि आजको कारबाही भएको हो।’
आगलागीमा संलग्न रहेको आरोपमा करिब १० जना महिलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए।
अराजक शैलीमा आगजनी भएको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।