लालबन्दी : भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।
सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।
महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।
यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।
ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ।
पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।
महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ।