
गोडैता : प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बसुन्धारा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका-५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार एक महिलाको शव भेटिएको थियो। मृत भेटीएकी महिला सिराहाकी राम दुलारी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो।
तर राम दुलारीको अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।
मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।
यद्यपि, हालसम्म उनका आफन्त भने सम्पर्कमा आएका छैनन् । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।