मधेशका चार जिल्लामा ३३५ किलोमीटर हुलाकी सडक निर्माण

धनुषा : मधेश प्रदेशको चार जिल्लामा ८ अर्ब ५१ करोड ७९ लाख रुपैयाँको लागतमा तीन सय ३५ किलोमिटर हुलाकी सडक निमार्ण गरिएको छ । आर्थिक वर्ष ०७२/७३ देखि आव ०८०/८१ सम्ममा उक्त हुलाकी सडक निर्माण गरिएको हो ।

केही ठाउँमा थप सडक निमार्ण गर्ने कार्य भइरहेको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा हुलाकी सडक निर्माण गरिएको हो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जीतकुमार रायका अनुसार ती चार जिल्लामा कूल तीन सय ९३ किमी सडक निमार्ण गर्ने लक्ष्य थियो ।

यस क्रममा साना तथा ठूला गरी ५१ पक्की पुल निर्माण गरिएका छन् । हुलाकी सडक निमार्ण कार्य नेपाल तथा भारत सरकारको लगानीमा भइरहेको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए । हुलाकी सडक निर्माणबाट करिब ३६ लाख नागरिक लाभान्वित हुने उनले बताए ।

‘हुलाकी सडक छेउछाउका जमिनको मूल्य आकासिएको छ, राजमार्गमा पर्ने ठूला तथा साना बजार आर्थिकरुपले समृद्ध हुँदै गएका छन् । राजमार्गमा सवारी साधनको आवागमनमा वृद्धि भएको छ’, उनले भने ।

कार्यालयबाट प्राप्त विवरणअनुसार निमार्ण भएको हुलाकी सडकमध्ये सिरहामा २९ दशमलव ९८ किमी (कमला–बलान सडक), २७ दशमलव ४६ किमीको गोलबजार जमदह लवदी र गरियानी खडग सडक, धनुषामा ३५ दशमलव ५८ किमीको कदम चौक–कप्टौल–निकौरिया सडक, १० किमीको यदुकोहा– खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमीको जनकपुरधाम–जलेश्वर भिठ्ठामोड सडक रहेका छन् ।

यसैगरी महोत्तरीमा निर्माण भएका सडकमा २० किमी लामो जनकपुर–बसविटी–वलुवा–हर्दिपोखर–भिण्डा–सङ्ग्रामपुर सडक निमार्ण गरिएको छ । सर्लाहीमा २२ दशमलव ४८ किमी लामो वेल्ही-त्रिभुवननगर सडक, २१ दशमलव २० किमी लामो फुलजोड–त्रिभुवननगर सडक तथा ४० दशमलव ३७ किमी लामो शितलपुर–मलङ्गवा–खरैयाटोल सडक, २६ दशमलव ५९ किमी लामो नवलपुर–मलङ्गवा तथा ४० दशमलव ५८ किमी लामो नयाँरोड–बरहथवा र मधुवनी सडक तथा बरथहवादेखि पश्चिम ५२ किमी सडक निर्माण सम्पन्न भएका छन् । रासस

सम्बन्धित समाचार

सबै