महोत्तरी : जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन्।
बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन्।
केन्द्रले २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको छ।
चालु आर्थिक वर्षको हालसम्म एक सय एक जना सर्पले डसेका बिरामीलाई उपचार गरिएको केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए। उनका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन्। केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका ६ जना दक्ष जनशक्ति खट्दै आएका छन्।
सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन्।
ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ। गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिए।
महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सर्प बढी देखिने गरेका छन्।
पछिला दिनमा बर्दिबास नगरक्षेत्रको बढ्दो सहरीकरणले मानव चहलपहल वृद्धि चएसँगैपछि सर्पको बिगबिगी घट्दै गएको यहाँका स्थानीय बताउँछन्।
केन्द्रमा महोत्तरी, सिन्धुली, धनुषा र सर्लाहीलगायत मधेश प्रदेशका जिल्लाका सेवाग्राही उपचारका लागि आउने गरेका छन्।