घाँसेबाली रञ्जितपुर केन्द्रले बेच्दैछ यी १० प्रकारका पशुवस्तु, कुनको मूल्य कति ?

प्रतीकात्मक तस्वीर

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकास्थित रञ्जितपुरमा रहेको घाँसेबाली तथा आनुवांशिक स्रोत केन्द्रले आफ्नो गोठमा भएका पशुवस्तु बिक्रीको लिलामीसम्बन्धी सूचना निकालेको छ।

हिजो शुक्रबार केन्द्रले १० प्रकारका (१० वटा) पशुवस्तु लिलामीको सूचना जारी गरेको हो।

जारी सूचनामा भनिएको छ ‘यस केन्द्रमा रहेका पशु बस्तुहरु लिलाम बिक्री गर्नुपर्ने भएकोले लिलाम बढाबढमा खरिद गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूबाट देहायबमोजिम शर्तहरूको अधीनमा रही एकमुष्ठ लिलाम बढाबढको सूचना आह्वान गरिएको छ।’

जसअनुसार १० वर्षीय मुर्रा राँगाको न्यूनतम मूल्य ६५ हजार रुपैयाँ उल्लेख गरिएको छ भने बाच्छोसहितको ६ वर्षीय लैनो जर्सी गाईको मूल्य मात्र मात्र १८ हजार र बाच्छीसहितको ४ वर्षीय जर्सी गाईको १५ हजार रुपैयाँ तोकिएको छ।

यसैगरी २ वर्षको जर्सी कोरली बाच्छीको मूल्य २१ हजार रुपैयाँ रहेको लिलामीको सूचनामा उल्लेख छ।

खरिदकर्ताले (डाक बोल्न चाहनेले) न्यूनतम कायम मूल्यको ५ प्रतिशत धरौटी रकम नगदै जम्मा गर्नुपर्ने र डाक बढ्दै गएमा सोही अनुपातमा धरौटी रकम जम्मा गर्नुपर्ने सूचनामा जनाइएको छ।

केन्द्रका प्रावधिक उद्वव तिमिल्सिनाका अनुसार वर्षमा केन्द्रले एक पटक यस्तो सूचना जारी गर्ने गरेको छ। सूचना जारी भएपछि एकैपटकमा सबै पशुवस्तु लिलामीमा जाने उनले बताए। ‘पशु चिकित्सक र विज्ञहरू सबै आएपछि कार्यविधिअनुसार बजार भाउ मूल्यांकन गरेर डाक बढाबढमा जान्छौँ,’ उनले भने।

लिलाम साकार गर्न चाहनेले भने २ दिनभित्रमा पशुवस्तुहरू लगिसक्नुपर्ने पनि उनले बताए। लिलाम बिक्री भने यही असोज ११ गते दिउँसो २ बजे केन्द्रको कार्यालयमा हुने जनाइएको छ।

हेर्नुहोस् सूचना

सम्बन्धित समाचार

सबै