लालबन्दी : सर्लाहीको पर्सा गाउँपालिकामा डुबेर मंगलबार एक बालिकाको मृत्यु भएको छ।
पर्सा गाउँपालिका-५ पर्सा टोलका बब्लु अन्सारीकी दुई वर्षकी छोरी आइसा खातुन आफ्नै घर अगाडिको कुलोमा डुबेर मृत अवस्थामा आज दिउँसो फेला परेकी हुन्।
दिउँसो साँढे ३ बजेतिर घर अगाडि खेलिरहेकी बालिकालाई नदेखेपछि उनका बुवाआमासहित आफन्तले प्रहरीमा खबर गरेका थिए।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ४ बजेतिर घरदेखि १ सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा बालिकाको शव फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम भएको र शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा पठाइने तयारी भएको छ।