लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका-१७ घर भई मकवानपुरको सिस्नेरीमा रहेको एन्फा एकेडेमी अभ्यासरत १३ वर्षीय प्रशिक्षार्थी आदित्य बलम्पाकीको राज्यले हत्या गरेको भन्दै रानीगन्जमा पदर्शन भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गत १२ गते गएको पहिरोमा परी आदित्यसहित ६ जनाको मृत्यु भएको थियो।
मकवानुपुरको सिस्नेरीमा मापदण्ड र पूर्वाधार नै नभएको ठाउँमा एन्फाले लगेर प्रशिक्षण दिलाएको र प्रशिक्षार्थीहरूको कुनै रेकर्ड नराखेको लगायत आरोप लगाउँदै लालबन्दी-१७ रानीगन्जका स्थानीय र आफन्तले प्रदर्शन गरेका हुन्।
एन्फाको व्यवस्थापकीय पक्ष कमजोर रहेको, उपयुक्त स्थानमा प्रशिक्षार्थी खेलाडीलाई नराखेको, २५ जना राख्नुपर्ने ठाउँमा ४० जनाभन्दा बढी राखेका कारण यो दुर्घटना निम्तिएको सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरूले आरोप लगाएका छन्।
त्यस्तै निःशुल्क अभ्यास गराउन भनी प्रशिक्षार्थीहरूलाई लगे पनि सुरुदेखि नै एन्फाका केही कर्मचारीहरूले रकम असुलेको पनि प्रदर्शनमा सहभागीहरूले आरोप लगाएका छन्।
प्रदर्शनमा सहभागी स्थानीय विभुसिंह थापाले भने, ‘एन्फाले हाम्रो बच्चा लगेर मारेको हो। छानबिन गर्नुपरो।’
गैरजिम्मेवारीपन र लापरवाहीले प्रशिक्षार्थी बालबालिकाहरूको मृत्यु भएको भने पनि एन्फाले यो घटनालाई भवितव्य बनाएर उम्किन खोजिरहेको थापाले आरोप लगाएका छन्। ‘हामीलाई यो सबै प्राकृतिक विपतले गर्दा भएको हो भनी सही गर्न लगाएका छन्, तर हामी यसमा सही गर्दैनौँ, यो एन्फाले गरेको हत्या हो,’ थापाले सर्लाही न्युजसँग भने। आफूहरूले आदित्यको शव मागेर दाहसंस्कार गर्छौँ भन्दा पनि नपाइएको उनले गुनासो गरे।
आदित्यसको शव काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आफन्तहरूले शव बुझ्न मानेका छैनन्। उनीहरूले एन्फाकै व्यवस्थापकीय कमजोरीका कारण आफ्नो बच्चाको मृत्यु भएको र पहिरोले भन्दा पनि दुर्घटना भएकाले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।
अविरल वर्षासँगै आएको पहिरो र कुलेखानीको ड्याम खोलिएपछि एन्फाको सिस्नेरी एकेडेमीमा रहेका ६ जना किशोरहरूको पहिरोमा परी मृत्यु भएको थियो। बाँकीलाई घाइतेलगायतलाई भने हेलिकोप्टमार्फत काठमाडौँ लगिएको थियो। यो घटनामा एन्फाको गम्भीर लापरबाही र एन्फा व्यवस्थापकको गैरजिम्मेवारीपन देखिएको भन्दै अहिले आलोचना भइरहेको छ।
उक्त पहिरोमा परी आदित्यसँगै हेटौँडाका अनुप घलान, मकवानपुरका साइमन योञ्जन, काठमाडौँका रियान्स आचार्य, बाराका विकल रेग्मी र मकवानपुरकै दिवस बानियाँको निधन भएको थियो।
*शिक्षण अस्पताल महाराजगञ्जमा आदित्यको शव रहेको छ। यसअघि राखिएको सूचना गलत भएकोमा क्षमा चाहन्छौँ- सम्पादक