लालबन्दी : रुपन्देहीको घाघरा खोलामा शनिबारदेखि बेपत्ता भएका सर्लाही लालबन्दी नगरपालिका-१७ रानीगन्जका जिप चालक प्रकाश तामाङ शव घर ल्याउन नसक्दा उतै फर्काइएको छ।
आज सोमबार बुटवलबाट सर्लाही रानीगन्जस्थित घरमा शव ल्याउँदै गर्दा बाटो अवरुद्ध भएर शव फर्काइएको मृतक तामाङका भिनाजु नाता पर्ने ज्याकी गोलेले जानकारी दिए।
दशैंमा बिहे गर्ने तयारीमा रहेका २८ वर्षीय तामाङका परिवारका सदस्यहरू हिजै मर्चवार पुगेर शव बुझिसकेका रूपन्देही प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा दुई जनाको निधन भएको थियो। अर्का मृतक सहचालक उमेश लोध हुन्।
मर्चवारबाट दूध लिएर भैरहवा आउँदै गरेको भे१च २६७६ नम्बरको जिपमा सवार चालक तामाङ र सहचालक उमेश लोधलाई घाघरा खोलाले बगाएर बेपत्ता भएका थिए। उनीहरूको शव सोमबार बिहान भेटिएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको जिप आइतबार साँझ फेला परेको थियो। शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य गरिरहेका थिए।
सम्मरीमाई गाउँपालिका-५ रोइनिहवास्थित तिवारी दूध संकलन केन्द्रबाट दूध लिएर जिप शनिबार बिहान ५ बजे भैरहवा जाँदै गरेको थियो। सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको थियो।