लालबन्दी : मकवानपुरको सिस्नेरीमा पहिरोमा परी निधन भएका आदित्य बलम्पाकीको शव ल्याउन ढिलाइ भएको छ।
मौसम प्रतिकूल सर्लाहीस्थित लालबन्दीमा रहेको उनको घरमा ल्याउनुपर्ने शव रामेछाप पुगेको हो।
आदित्यको शव बोकेर काठमाडौंबाट उडेको हेलिकप्टर खराब मौसमका कारण उदयपुरको घुर्मी हुँदै आज साँझ ६ बजेतिर रामेछापको मन्थलीमा अवतरण गरिएको सँगै रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रतिनिधि भीम कोइरालाले सर्लाही न्युजसँग बताए।
‘उदयुरको घुर्मी पुगेका थियौँ, मौसमले साथ नदिँदा हामी सर्लाही जान सकेनौँ,’ कोइरालाले भने, ‘मौसममा सुधार आए भोलि बिहानै ६ बजे हेलिकोप्टर शव बोकेर आदित्यको घर जानेछौँ।’
काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर शव बोकेर उडेको थियो।
आदित्यको शव अहिले मन्थलीस्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
गएको शनिबार मकवानपुरको सिस्नेरीस्थित एन्फाको प्रशिक्षण केन्द्रमा पहिरो जाँदा आदित्यसहित ६ प्रशिक्षार्थी किशोर खेलाडीको मृत्यु भएको थियो। उक्त घटना एन्फाको लापरवाही र गैरजिम्मेवारीले भएको भन्दै मृतकका आफन्त र स्थानीय रानीगन्जबासीले हिजो सोमबार लालबन्दी १७ मा पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए।