इन्जिनियर बन्ने सपना देखेका सर्लाहीका वसन्त झ्याप्लेखोलाको पहिरोमा अस्ताए

हरिवनः पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्लेखोलामा परी सर्लाहीका एक किशोरको पनि मृत्यु भएको छ।

गएको असोज १२ गते अविरल वर्षापछि आएको पहिरोमा परी सर्लाही हरिपूर्वा नगरपालिका-१ का १६ वर्षीय वसन्त साहको मृत्यु भएको हो।

चितवनको भरतपुरबाट एसइईको सर्टिफिकेट लिएर काठमाडौँ जाँदै गरेका उनी सवार हायस पहिरोमा परेको थियो। सोही दुर्घटनामा वसन्तको मृत्यु भएको पुष्टि भएको छ।

बुवा भरतले किराना पसल चलाएर वसन्तलाई सानैदेखि बाहिर राखेर जसोतसो पढाउँदै आएका थिए।

काठमाडौँमै रहेका वसन्त गएको बिहीबार सर्टिफिकेट लिन चितवन पुगेका थिए। बिहीबार बिहान चितवन पुगेका उनी शुक्रबार काठमाडौँ फर्किँदै गर्दा दुर्घटना परेका उनको परिवारले जानकारी दिएको हो।

उनी सवार हायस राति १ बजेपछि सम्पर्कविहीन भएको थियो। आइतबारसम्म वसन्त सम्पर्कमा नआएपछि बुवा भरत छोरालाई खोज्न काठमाडौँ हिँडेका थिए। तर उननले छोरालाई जीवित भेट्न पाएनन्। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललमा भरतले छोराको शव पाएका थिए।

सिभिल इन्जियरिङ पढ्न काठमाडौँ पुगेका वसन्त कहिल्यै नफर्किनेगरी अस्ताएका छन्। वसन्तको मृत्युले उनको गाउँ नै अहिले शोकमा डुबेको छ।

उक्त झ्याप्लेखोलामा सबैखाले सवारीमा परी ३९ जनाभन्दा बढीको मृत्यु भएको थियो।

सम्बन्धित समाचार

सबै