मधेश सरकारले बाढीपहिरोमा निधन भएका परिवारलाई जनही एक लाखका दरले दिने

जनकपुर : मधेस प्रदेश सरकारले यही असोज ११ र १२ गतेको बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त राहत दिनेबारे आज घोषणा गरेका हुन्।

मुख्यमन्त्री सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावित प्रदेशवासीलाई राहत उपलब्ध गराउन एकद्वार प्रणाली अवलम्बन गर्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

बर्खा तथा बाढीबाट प्रभावित बस्तीमा राहत तथा पुनःस्थापना कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई उनले आग्रह पनि गरेका छन्।

विपद्का बेला मधेश प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्य व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायतलाई मुख्यमन्त्री सिंहले धन्यवादसमेत दिए।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधारलगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण सङ्कलन भइरहेको र त्यसअनुरूप राहत तथा पुनःस्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।

असोज १० गतेदेखि परेको अविरल वर्षापछि बाढी, पहिरो र डुबानका कारण मधेश प्रदेशमा मात्र ५ अर्ब बढीको धानबाली नष्ट भएको छ।

आठवटै जिल्लाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार ४२ हजार ६९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा प्रभाव पर्दा ५ अर्ब ४ करोड ८३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार

सबै