आपत्कालीन बैठक बोलाउन एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काको माग

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आपत्कालीन बैठक बोलाउन माग राखेका छन् ।

खड्काले बिहीबार अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र लेख्दै एन्फाको विधान धारा ३७ (२) अनुसार बैठक बोलाउन माग गरेका हुन् । गत १२ असोजमा मकवानपुरको सिस्नेरीमा आएको बाढीपहिरोमा परेर एकेडेमीका ६ खेलाडीको निधन भएको थियो ।

खड्काले छानबिन समिति बनाएर घटनाको सत्यतथ्य सार्वजनिक गर्न एन्फालाई दबाब दिएका हुन् । ‘घटना भएपछि छानबिन समिति बनाई सत्यतथ्य जानकारी गराउन आवश्यक भएकाले तत्काल बैठक बसी निर्णय गर्न एन्फाको विधानको धारा ३९ (२) बमोजिम दुई दिनभित्र एन्फा कार्यसमितिको आपत्कालीन कार्यसमिति बैठकका लागि अनुरोध गर्दछु,’ खड्काले पत्रमा लेखेका छन् ।

एन्फाको विधानको धारा ३९ (२)मा विशेष परिस्थितिमा अध्यक्षले कार्यसमितिको आपत्कालनि बैठक बोलाउन सक्ने उल्लेख छ । अध्यक्षले विशेष परिस्थितिमा डाक्ने बैठकका लागि सात दिनको सूचना निकाल्नुपर्दैन । तर, एकतिहाइ सदस्यले बैठक बोलाउन अनुरोध गरेमा अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ । अध्यक्षले त्यसो नगरेमा अन्य सदस्यले कार्यसमिति बैठक बोलाउन सक्छन् ।

यसअघि खेलाडीका आफन्तले एन्फाको लापरबाहीका कारण खेलाडीले ज्यान गुमाउनुपरेको आरोप लगाएका थिए । ‘जिल्ला, प्रदेश र केन्द्रीयस्तरबाट छनोट भएका कतिजना खेलाडी एकेडेमीमा राखियो ? स्थानीयस्तरबाट कतिजना र अन्य स्तरबाट एन्फा एकेडेमीमा कसरी खेलाडी राखियो ? पैसा लिएर एकेडेमीमा खेलाडी राखिएको भनिएको छ । घटना कसरी भयो ? मृतकका परिवारसँग के–कस्तो सम्झौता थियो ?’ उनले पत्रमा लेखेका छन् ।

सम्बन्धित समाचार

सबै