डुबानमा परेको जलेश्वरस्थित राजदेवी मन्दिरको पानी निकाली पूजा शुरु

महोत्तरी : बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगरपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ।

अविरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन्।

राजदेवी मन्दिरका पुजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भगृह डुबाउनुका साथै प्रतिमा पनि डुबानमा पर्दा सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो।

पुजारी गिरीले मन्दिर र गुफा दुवै डुबानमा रहेकै कारण मन्दिरको पछाडिपट्टि रहेको खाली भू-भागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताए।

जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पूजा समिति, स्थानीय नागरिक समाजका व्यक्तिले मिलेर आज मन्दिरबाट बाढीको पानी निकालेर सरसफाइ गरी पूजाआजालाई निरन्तरता दिइएको छ। नगरप्रमुख सुरेश साह सोनारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाइकर्मी र स्थानीय बासिन्दाको सहयोगमा दमकलसहितका उपकरण लगाएर मन्दिरको पानी निकालिएको हो।

उक्त मन्दिर जलेश्वरको सबैभन्दा होचो ठाउँमा रहेका कारण आज बाढी गइसकेको चारपाँच दिन भइसक्दा पनि बाहिरी पानीको सतह कम नभएकाले मन्दिरको पानी पनि निस्कन नसकेको र पूजाआजा पनि प्रभावित भएको थियो।

सम्बन्धित समाचार

सबै