
सर्लाही : गत शनिबार मकवानपुरको इन्द्रसरोवरस्थित टेकरमा खसेको पहिरोमा परी ज्यान गुमाएका मकवानपुरका तीनसहित ६ खेलाडीको परिवारलाई राहत वितरण गरिएको छ।
नेपाल सरकारका तर्फबाट मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवाले मकवानपुरका २ जना खेलाडीको घरमै पुगेर राहत उपलब्ध गराएका छन्।
यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका टेकरका दिवस बानियाँको परिवारलाई जिल्ला प्रशासन कार्यलयम मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले घरमै पुगेर राहत हस्तान्तरण गरेका हुन्।
यसैगरी, मकवानपुर जिल्लाबाहिरका मृतक खेलाडीका परिवारलाई भने उनीहरूको परिवारको बैंक खातामा राहत रकम पठाइ सकिएको प्रजिअ चिलुवालले जानकारी दिए।
प्रजिअ चिलुवालले हेटौँडा उपमहानगरपालिका– १२ का अनुपम घलान र मकवानपुरगढी गाउँपालिका– ४ का साइमन योञ्जनका परिवारलाई भेटेर राहत रकम हस्तान्तरण गरेका हुन्। उनले मृतक अनुपमका बाबु ललित घलान र साइमनका बुबा हेमबहादुर योञ्जनलाई दुई–दुई लाख रुपैयाँको चेक प्रदान गरे।
गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा आएको पहिरोमा परेर मकवानपुरका तीनसहित ६ जना खेलाडीको मृत्यु भएको थियो।
मृत्यु हुने अन्य खेलाडीमा बाराका निजगढका विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाकी र काठमाडौंका प्रियान्स आचार्य छन्। उनीहरू एन्फा एकेडेमीले मकवानपुरको इन्द्रसरोवर– ३ मा रहेको वत्सला माविमा सञ्चालन गरेको एकेडेमीमा अध्ययनसँगै फुटबल प्रशिक्षणमा थिए।
एन्फा र एकेडेमी व्यवस्थापन समितिको लापरबाहीका कारण ६ जना बालकको ज्यान गएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। यद्यपी, यस विषयमा एन्फाले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
सामान्य पूर्वाधार एवं तयारीबिना नै एकेडेमी सञ्चालन गरिएको र कुलेखानीको ड्याम खोलेपछिको हल्ला र त्रासका कारण तत्काल एकेडेमीमा रहेका एन्फाका प्रतिनिधि र व्यवस्थापन समितिले सही निर्णय लिन नसक्दा र उनीहरूको लापरबाहीले युवा खेलाडीले ज्यान गुमाएको आफन्तहरूले आरोप लगाउँदै आएका छन्।
उक्त घटनाको विषयमा न्यायिक छानबिन हुनुपर्ने भन्दै खेल सम्बद्ध व्यक्तिहरूले छानबिन समिति बनाएर घटनाको दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन्।
नयाँ पत्रीकाबाट